२०६९ मंसीर ७ गतेको लागि घोषणा गरिएको सविधान सभा निर्वाचनको सन्दर्भमा नेपाल सरकार, सरकारी तथा अर्ध सरकारी संस्थाको कार्यालय तथा कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता
2012-06-07 — Notice / Annoucement
निर्वाचन आयोग नेपाल
२०६९ मंसीर ७ गतेको लागि घोषणा गरिएको सविधान सभा निर्वाचनको सन्दर्भमा नेपाल सरकार, सरकारी तथा अर्ध सरकारी संस्थाको कार्यालय तथा कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता
निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचन सम्पन्न नभएसम्म नेपाल सरकार, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीले देहायका आचार संहिता पालना गर्नु पर्नेछ :-
१. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकायले नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न वा स्वीकृत गर्न वा नयाँ योजना कार्यान्वयन गर्न वा संचालन गर्न वा सो प्रयोजनका लागि जनशक्ति तथा श्रोत, साधनको परिचालन गर्नु गराउनु हुदैन । तर यो आचार संहिता लागू हुनु अगावै स्वीकृत भएको योजना कार्यान्वयन गर्न वा संचालन गर्न वा त्यस्तो योजनालाई निरन्तरता दिन वाधा पुगेको मानिने छैन ।
२. सरकारी, सरकारी नियन्त्रण वा स्वामित्वमा रहेका निकाय वा स्थानीय निकायले कुनै पनि योजनाको शिलान्यास गर्ने वा उद्घानटन गर्ने, नयाँ योजना वा कार्यक्रम स्वीकृत गर्ने, शुरु गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा अनुदान दिने जस्ता कार्यहरु गर्नु गराउनु हुदैन । तर प्राकृतिक प्रकोपको कारणबाट काबु बाहिरको परिस्थिति सिर्जना भई मानवीय आधारमा सहयोग पुर्यााउन कुनै कार्यक्रम संचालन गर्न आवश्यक भएमा त्यस्तो कार्यक्रम संचालन गर्न वाधा पुगेको मानिने छैन ।
३. नेपाल सरकारका मन्त्रीहरु तथा राजनैतिक नियुक्ति पाएका व्यक्तिहरुले सरकारी कामका लागि भ्रमण, निरीक्षणमा जाँदा वा अन्य कुनै सरकारी काममा संलग्न रहँदा निर्वाचनको प्रचार प्रसारमा संलग्न रहनु
हुदैन ।
४. मन्त्री वा निजका सल्लाहकारहरु वा राजनैतिक नियुक्ति पाएका व्यक्तिहरुले प्रयोग गर्ने सरकारी साधन, अन्य साधन, श्रोत र सहुलियत राजनैतिक दल वा राजनैतिक दलका उम्मेदवार वा स्वतन्त्र उम्मेदवारको प्रचार प्रसारको काममा प्रयोग गर्नु गराउनु हुदैन । तर प्रधानमन्त्रीको पदीय दायित्व र सुरक्षालाई दृष्टिगत गरी निजको भ्रमणको सिलसिलामा प्रयोग हुने सरकारी सवारी साधनको हकमा यो बन्देज लागू हुने छैन । यस्तो सवारी साधनमा निर्वाचन प्रचार प्रसारमा संलग्न राजनैतिक दलका व्यक्तिलाई समावेश गरिनु
हुदैन ।
५. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई नेपाल सरकार वा अख्तियारवाला कुनैपनि पदाधिकारीहरुले कुनै राजनैतिक दल वा उम्मेदवारको प्रचार प्रसारको काममा वा निर्वाचन परिणाममा प्रभाव पार्ने खालको काममा प्रयोग गर्नु गराउनु हुदैन ।
६. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकायका भवन, अतिथि गृह, सभागृह वा त्यस्तै अन्य साधन र सुविधालाई कुनै राजनैतिक दल वा उम्मेदवार वा निर्वाचनको प्रचार प्रसारमा संलग्न अन्य व्यक्तिहरुलाई समेत प्रयोग गर्न दिनु हुदैन ।
७. नेपाल सरकार, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकायका प्रमुख वा कर्मचारीले आफ्नो कुनै पनि किसिमको श्रोत, साधन कुनै राजनैतिक दल वा उम्मेदवारको प्रचार प्रसारको लागि उपलब्ध गर्नु गराउनु हुदैन ।
८. सरकारी, अर्धसरकारी संस्था तथा स्थानीय निकायमा कार्यरत कुनै पनि कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक र सुरक्षाकर्मीहरुलाई निर्वाचन सम्बन्धी काममा बाहेक अन्यत्र सरुवा गर्न, काजमा खटाउन, बढुवा गर्न वा रिक्त पदमा पूर्ति गर्नु हुँदैन ।
९. नयाँ पद सृजना गर्न, विज्ञापन गर्न वा तलब भत्ता बृद्धि गर्न वा ग्रेड, पुरस्कार वा यस्तै अन्य सुविधा र सहुलियत प्रदान गर्न हुदैन ।
तर लोकसेवा आयोगद्वारा बार्षिक क्यालेण्डर अनुसार नियमितरुपमा गरिने विज्ञापनका सम्वन्धमा यो व्यवस्था लागु हुने छैन ।
१०. निर्वाचनमा संलग्न रहने कर्मचारी, सुरक्षाकर्मीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नलागी आफ्नो पदीय कर्तव्य तटस्थ र निष्पक्ष रुपमा पालना गर्नु पर्नेछ ।
११. निर्वाचनको घोषणा भए पछि निर्वाचन समाप्त नहुन्जेलसम्म आयोगको पूर्व स्वीकृति वेगर नेपाल सरकार वा कुनै सरकारी तथा अर्ध सरकारी संस्थाको कार्यालय वा स्थानीय निकायको तर्फबाट विदेश भ्रमणमा जान पाइने छैन ।
१२. कुनै पनि ब्यक्ति¸ संघ संस्थालाई कुनै प्रकारको आर्थिक सहायता¸ चन्दा¸ अनुदान उपलव्ध गराउनु हुदैन ।
२०६९।२।२४
|