युरोपियन युनियनको प्रतिनिधिमडलले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँग गरेको भेटघाट सम्बन्धी प्रेस विज्ञप्ति
2012-07-22 — Press Release
युरोपियन युनियनको प्रतिनिधिमडलले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँग गरेको भेटघाट सम्बन्धी प्रेस विज्ञप्ति
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री नीलकठ उप्रेतीसँग युरोपियन युनियनको दक्षिण एशियाका लागि अध्यक्ष Jean LAMBERT र संसद सदस्यहरु Phil BENNION र Salvador SEDÓ i ALABART सहितको प्रतिनिधिमडलले आज उहाँकै कार्यकक्षमा भेट गरी निर्वाचन आयोगका वर्तमान गतिविधि र अर्को संविधान सभाको निर्वाचनको तयारीका बारेमा छलफल गर्यो।
सो अवसरमा प्रतिनिधिमडलको स्वागत गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री नीलकठ उप्रेतीले युरोपियन युनियनले नेपालको निर्वाचन र लोकतान्त्रिक प्रक्रियामा विगतमा पुर्याएको सहयोगको लागि धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने आशा व्यक्त गर्नु भयो। उहाँले फोटोसहितको मतदाता नामावलीको तयारी, निर्वाचन कानूनहरुमा परिमार्जन गर्न थालिएको प्रक्रिया, मतदानस्थलको सुधार गर्ने कार्य लगायतका विषयमा प्रकाश पार्नु भएको थियो।
प्रतिनिधिमडलका सदस्यहरुको जिज्ञासाहरुको उत्तर दिंदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री उप्रेतीले सरकार र राजनीतिक दलहरुले चाहेमा स्थानीय निकायको चुनाव गर्न आयोग तयार रहेको, राष्ट्रिय स्तरको निर्वाचनमा विद्युतीय मतदानयन्त्रको प्रयोग गर्ने गरी तयार गरिरहेको, घोषित अर्को संविधान सभाको निर्वाचनका लागि तयारी गर्दै रहको र समयमा नै संविधान र कानूनमा संशोधन भएर आएमा निर्वाचन गर्न सकिने जस्ता कुरामा जोड दिनु भएको थियो। यसैगरी उहाँले विदेशमा रहेका नेपालीहरुको नाम मतदाता नामावलीमा समावेश गर्ने र उनीहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययनको कार्य थालिएको र अध्ययनको निष्कर्षका आधारमा आयोगले आवश्यक निर्णय गर्दै जाने कुरा पनि बताउनु भयो।
सो अवसरमा प्रतिनिधिमडलका सदस्यहरुले निर्वाचन आयोगले गरेको कार्यको प्रशंसा गर्दै नेपालको लोकतान्त्रिक प्रक्रियमा युरोपियन युनियनको सहयोग निरन्तर रहने कुरा उल्लेख गर्नु भएको थियो।
शारदाप्रसाद त्रिताल
सहसचिव एवं प्रवक्ता
२०६९।४।५
|