विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न आयोगका सचिव श्री शंकर प्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन
2012-04-19 — Press Release
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न आयोगका सचिव श्री शंकर प्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरेको छ । निर्वाचन आयोगको रणनीतिक योजना, २०६५ ले निर्देश गरेबमोजिम मतदाता नामावली सुधारको लागि आयोगले विभिन्न प्रयासहरु अवलम्बन गरिरहेको छ । यसै परिप्रेक्षमा रोजगारी तथा अध्ययन लगायतको प्रयोजनको लागि उल्लेख्य सङ्ख्यामा मुलुकबाहिर रहेका नेपालीहरुबाट उनिहरुलाई मतदाता नामावलीमा समावेश गर्ने र मतदानको अवसर तथा अधिकार उपलब्ध गराउने विषयमा विभिन्न मञ्चमा आवाज उठाइएको तथा निर्वाचन आयोग समक्ष माग भै आइरहेको हुँदा आयोगले देहायको अध्ययन समिति गठन गरी देहायबमोजिम कार्यादेश दिएको छ ः
समितिको गठन
१. सचिव, निर्वाचन आयोग श्री शंकर प्रसाद कोइराला संयोजक
२. अध्यक्ष, गैरआवासीय नेपाली संघ श्री जीवा लामिछाने सदस्य
३. सह–सचिव, अर्थ मन्त्रालय श्री राजन खनाल सदस्य
४. सह–सचिव, गृह मन्त्रालय श्री भोला शिवाकोटी सदस्य
५. सह–सचिव, परराष्ट्र मन्त्रालय श्री अर्जुन वहादुर थापा सदस्य
६. सह–सचिव, कानून तथा न्याय मन्त्रालय श्री राजुमान सिंह मल्ल सदस्य
७. सह–सचिव, निर्वाचन आयोग श्री शारदा प्रसाद त्रिताल सदस्य–सचिव
कार्यक्षेत्र
समितिले विदेशमा रहेका नेपाली नागरिकहरुलाई र विशेषतः गैरआवासीय नेपालीहरुलाई मतदाता नामावलीमा नाम समावेश गर्ने विषयमा निर्वाचन आयोग समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ । यस प्रयोजनको लागि समितिले देहायको पक्षहरुमा अध्ययन विश्लेषण गरी सो सम्बन्धमा आफ्नो सिफारिस र त्यस्तो सिफारिस कार्यान्वयन गर्ने कार्ययोजना समेत प्रस्ताव गर्नु पर्नेछ ः
१. मतदान तथा मताधिकारसम्बन्धी नेपालको वर्तमान अवस्था
२. अन्तर्राष्ट्रिय अभ्यास (अन्य मुलुकहरुमा गैरआवासीय नागरिकहरुलाई मताधिकार प्रदान गरिएका विषयको अध्ययन)
३. आवश्यक पर्ने नीतिगत व्यवस्था
४. आवश्यक पर्ने कानूनी व्यवस्था
५. कार्यान्वयन गर्ने संस्थागत संरचना
६. कार्यान्वयन गर्ने प्रक्रिया
७. गैरआवासीय नेपालीहरु लगायत विदेशमा रहेका नेपाली नागरिकहरुको नाम मतदाता नामावलीमा भएको अवस्थामा नेपालमा हुने राष्ट्रिय लगायत विभिन्न तहका निर्वाचनहरुमा मतदानको अवसर प्रयोग गराउने प्रक्रिया र सोको क्षेत्र एवम् सम्भाव्य सीमा
८. स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन व्यवस्थापनमा प्रस्तुत विषयबाट पर्ने असर तथा प्रभाव
९. आवश्यक पर्ने आर्थिक दायित्व र सोको श्रोत
१०. समितिले आवश्यक ठह¥याएका अन्य विषय ।
शारदाप्रसाद त्रिताल
सहसचिव तथा प्रवक्ता
|