सरोकारवालाहरुका लागि

निर्वाचन शिक्षा तथा सूचना केन्द्र


 स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनको सुनिश्चितताका लागि सबै मतदाता र निर्वाचनका साझेदारहरूलाई निर्वाचनका प्रक्रिया तथा प्रणालीका सम्बन्धमा आवश्यक सूचनाहरू उपलब्ध गराउँदै लोकतन्त्रमा निर्वाचनको  महत्त्वको बारेमा सुसूचित गर्नु आवश्यक छ । यसलाई मूर्त रूप दिनको लागि निर्वाचन आयोगले २०६९ साल जेठ ११ गते निर्वाचन शिक्षा तथा सूचना केन्द्रको स्थापना गरी नियमित सञ्चालनमा ल्याएको छ ।

 
आम मतदाता तथा भावी मतदाता एवं अधिकाधिक सरोकारवालाहरुलाई सरल, सहज र तथ्यपूर्ण शिक्षा तथा सूचना उपलब्ध गराउन यस केन्द्रमा नमुना मतदान कक्ष, सङ्ग्रहालय, मिनि थिएटर, प्रविधियुक्त अन्तरक्रियात्मक कक्ष तथा तालिम कक्षको व्यबस्था गरिएको छ । यसका साथै केन्द्रमा निर्वाचनसम्बन्धी विषयका अध्ययन÷अनुसन्धानकर्ताहरूका लागि सुविधायुक्त पुस्तकालय समेतको व्यवस्था गरिएको छ । त्यसै गरी निर्वाचन शिक्षाका लागि विशेष समुदायमा आधारित कार्यक्रम मार्फत पिछडिएको वर्ग, जाति, लिङ्ग तथा क्षेत्रका नागरिकहरुलाई समेत निर्वाचन तथा मतदाता शिक्षामार्फत विभिन्न सचेतीकरणका कार्यक्रमहरु सञ्चालन गरी निर्वाचनमा सुसूचित सहभागिता बढाउन उत्प्रेरित गर्ने निर्वाचन शिक्षा प्रदान गर्दछ ।
केन्द्रमा समय समयमा आयोगका कर्मचारी तथा अन्य सरोकारवालाहरूका लागि निर्वाचनसम्बन्धी विभिन्न किसिमका तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिन्छ ।
 
यो केन्द्र निर्वाचन आयोग परिसर कान्तिपथ, काठमाण्डौमा  अवस्थित छ ।
 
केन्द्रका मुख्य क्रियाकलापहरू 
 
निर्वाचन शिक्षा :
यस केन्द्रले लोकतन्त्र, संविधान र निर्वाचन इतिहास, नागरिकका हक अधिकार तथा कर्तव्य, राजनीतिक दल र राजनीतिक प्रक्रिया, निर्वाचन प्रणाली र मतदान प्रक्रिया, निर्वाचनको सन्दर्भमा सरोकारवालाको भूमिका र उत्तरदायित्व जस्ता विषयहरुमा आम जनतालाई सुसूचित गराउने र निर्वाचनसँग सम्बन्धित ऐतिहासिक एवं पुरातात्विक महत्वका सामग्रीहरुको संरक्षण र प्रदर्शन गर्दै निर्वाचन शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाउने जस्ता कार्यहरु गर्दै आएको छ ।
 
 
मतदाता/समुदायमा आधारित विशेष शिक्षा :
मतदाता दर्ता, निर्वाचनमा मतदाताहरुको सहभागिता तथा मतदान प्रक्रियाका बारेमा सम्पूर्ण योग्य नागरिकहरूलाई सुसूचित र उत्प्रेरित गर्न निर्वाचन आयोगले निरन्तर रूपमा मतदाता शिक्षा प्रदान गर्दै आएको छ । यसका साथै निर्वाचन आयोगले निर्वाचन शिक्षा तथा सूचना केन्द्र मार्फत सीमान्तकृत, पिछडिएका तथा राज्यको पहुँच बाहिर परेका समुदायहरुलाई “विशेष समुदायमा आधारित कार्यक्रम (Outreach)” सञ्चालन गर्दै आएको छ ।
 
निम्नानुसारका माध्यम तथा विधिहरुलाई उपयोग गरी  आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
आमसञ्चारका माध्यमहरू जस्तैः रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट तथा सामाजिक सञ्जाल
सहभागितात्मक कार्यक्रमहरू जस्तैः सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया, सडक नाटक, सामुदायिक भेला, घरदैलो कार्यक्रम, विधालय निबन्ध प्रतियोगिता, प्रदर्शनी तथा मेलाहरु
सूचना शिक्षा तथा सञ्चार सामग्रीहरू जस्तैः पोस्टर, पर्चा, पम्प्लेट, ब्यानर, होर्डिङ बोर्ड आदि
 
पुस्तकालय तथा अनुसन्धान :
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूलाई लोकतन्त्र, निर्वाचन र राज्यको शासन व्यवस्था जस्ता विषयहरुमा अध्ययन तथा अनुसन्धानको लागि सहज वातावरण प्रदान गर्न यस केन्द्र अन्तरगत अत्याधुनिक पुस्तकालय स्थापना गरिएको छ । यस पुस्तकालयमा उल्लिखित विषयहरुसँग सम्बन्धित २००० भन्दा बढी पुस्तक तथा पाठ्य सामग्रीहरु रहेका छन् । यहाँ रहेका पाठ्य सामग्रीहरु इन्टरनेट मार्फत प्रयोग गर्न सकिने व्यवस्था समेत रहेको छ ।
 
आयोगमा भएका ऐतिहासिक महत्वका पाठ्य सामग्रीहरू डिजिटाइज गरी इन्टरनेटको माध्यमद्वारा सर्वसाधारणको पहुँच बढाउने कार्य भइरहेको छ ।
 
क्षमता अभिवृद्धि तथा तालिम : 
कुनै पनि सङ्गठनमा जनशक्तिको क्षमता व्यवस्थापनको एक महत्वपूर्ण क्षेत्र तालिम हो । यसर्थ, निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा जनशक्ति विकासका लागि विभिन्न प्रकारका तालिमहरु निर्वाचन शिक्षा तथा सूचना केन्द्रमार्फत सञ्चालन गर्दै आइरहेको छ । मतदाता नामावली सङ्कलन, मतदाता तथा निर्वाचन शिक्षा र निर्वाचन व्यवस्थापन लगायतका निर्वाचन प्रक्रियाका सम्पूर्ण क्रियाकलापहरुको सफल सञ्चालन तथा व्यवस्थापनको लागि निर्वाचन आयोगमा कार्यरत र निर्वाचन व्यवस्थापनमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न हुने अन्य सरोकारवालाहरुको मानव संसाधनको क्षमता विकास गर्न सहभागितात्मक तथा समावेशीकरणका सिद्धान्तहरुलाई समेत आत्मसात गर्दै तालिम कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
केन्द्रले आयोगका कर्मचारी तथा सरोकारवालाहरुलाई निर्वाचन व्यबस्थापन, नागरिक तथा मतदाता शिक्षा आदि विषयहरुमा समय समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय तालिम तथा कार्यशाला गोष्ठीहरुको समेत आयोजना गर्दछ ।
 
भ्रमणकर्ताहरूका लागि सेवाहरू 
 
सङ्ग्रहालय :
नेपालमा वि.सं. २०१५ सालदेखि २०६३ सालसम्म सम्पन्न भएका विभिन्न निर्वाचनहरुमा प्रयोग भएका ऐतिहासिक निर्वाचन सामग्रीहरू निर्वाचन शिक्षा तथा सूचना केन्द्रको सङग्रहालयमा व्यवस्थित रुपमा राखिएको छ ।
 
मिनि थिएटर :
यस केन्द्रमा बढीमा ४० जना दर्शक क्षमता भएको एक मिनी थिएटर रहेको छ । यसमा नेपालको राजनीतिक विकासक्रम, लोकतन्त्र, निर्वाचन इतिहास जस्ता विषयहरुलाई समेटेर तयार गरिएको करिब २० मिनेट अवधिको वृत्तचित्र प्रदर्शन गरिन्छ । वृत्तचित्रको प्रदर्शन पश्चात त्यसका विषयबस्तुहरुमा आवश्यकतानुसार अन्तरक्रिया समेत सञ्चालन गरिन्छ ।
 
अन्तरक्रियात्मक कक्ष :
यस केन्द्रमा निर्वाचनका विविध विषयहरुलाई समेटेर तयार गरिएको अत्याधुनिक प्रविधिमा आधारित एक अन्तरक्रियात्मक कक्ष रहेको छ । यस कक्षमा अत्याधुनिक सामग्रीहरूको माध्यमबाट लोकतन्त्र, नेपालको निर्वाचन तथा संबैधानिक इतिहास, नागरिकहरूका काम, कर्तव्य र अधिकारहरू, निर्वाचन प्रणाली र मतदान प्रक्रिया, राजनैतिक पार्टीहरू र राजनैतिक प्रक्रिया, र सरोकारवालाहरूको दायित्व र भूमिका जस्ता विषयमा अन्तरक्रियात्मक तरिकाबाट सूचना तथा जानकारी प्रदान गरिन्छ ।
 
नमूना मतदान कक्ष :
मतदान प्रक्रियाको प्रत्यक्ष अभ्यास तथा अनुभूति प्रदान गर्नको लागि केन्द्रमा एक नमुना मतदान कक्षको व्यवस्था गरिएको छ । यस कक्षमा निर्वाचन प्रणाली र यसका बारेमा विभिन्न जानकारी प्रदान गर्नुका साथै नमुना मतदान प्रक्रियामा समेत सामेल हुने अवसर प्राप्त हुनेछ । यस प्रक्रियामा भ्रमणकर्ताहरूले मतदानमा खटिने कर्मचारी, पर्यवेक्षक, सुरक्षाकर्मी, पार्टी प्रतिनिधि आदि समेतको भूमिका निर्वाह गरी मतदान गर्ने प्रक्रियाको प्रत्यक्ष र व्यावहारिक अनुभव गर्न पाउँदछन् ।
 
यो केन्द्रमा क–कसले भ्रमण गर्न सक्दछन् ?
नेपाली नागरिक तथा मतदाताहरु
राजनीतिक दलका नेता, कार्यकर्ता तथा उम्मेदवारहरु
युवा एवं पहिलो पटक मतदान गर्ने मतदाताहरु
विधालय र विश्वविधालयका शिक्षक शिक्षिकाहरु
माध्यमिक, उच्च माध्यमिक र विश्वविधालय तहका छात्र छात्राहरु
आम सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु
गैसस तथा नागरिक समाजसम्बन्धी संघसंस्थाहरु
लोकतन्त्र, सुशासन र निर्वाचन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अध्येताहरु
तालिम प्रदान गर्ने संस्थाहरु
निर्वाचनसँग सरोकार राख्ने व्यक्ति एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु ।
ECN Map Center    FAQs    Press Room