सरोकारवालाहरुका लागि

निर्वाचन प्रणाली


निर्वाचन प्रणाली
 
नेपालमा प्रजातन्त्रको सूत्रपात विक्रम सम्बत् २००७ सालमा भएको हो । राणा शासनको अन्त्य भई नेपाली जनताको शासनमा सहभागिता सोही समयदेखि प्रारम्भ भएको थियो । दलीय प्रतिस्पर्धाका आधारमा पहिलो संसदीय निर्वाचन सम्बत् २०१५ सालमा भई संसदीय प्रजातान्त्रिक शासन पद्धतिअनुरूपको सरकार गठन भएको थियो । बिक्रम सम्बत् २०१७ साल पौष १ गते संसदीय सरकार अपदस्थ गरी निर्दलीय पञ्चायती शासन व्यवस्था लागू भयो । निर्दलीय पञ्चायती शासन व्यवस्था करिब तीस वर्षछि २०४६ सालको  जनआन्दोलनबाट समाप्त भयो र पुनः प्रजातान्त्रिक शासन पद्धति पुनर्स्थापना भयो । नेपाल अधिराज्यको संविधान, २०४७ बाट संवैधानिक राजतन्त्रसहितको संसदीय शासन पद्धति स्थापना भएको थियो ।
 
सम्बत् २०६३ सालमा भएको दोस्रो जनआन्दोलनबाट नेपाल अधिराज्यको संविधान, २०४७ खारेज भयो । सम्बत् २०६४ सालमा नेपालमा सर्वप्रथम संविधानसभाको निर्वाचन भयो भने सम्बत् २०६५ साल जेठ १४ गते संविधानसभाबाट गणतन्त्र स्थापना भयो। सम्बत् २०६४ सालको निर्वाचनबाट गठित संविधानसभा सम्बत् २०६९ साल जेठ १४ गते विघटन भयो। वर्तमान समयमा नेपालमा गणतान्त्रिक शासन पद्धति र संसदीय स्वरूपको शासन पद्धति रहेको छ ।
 
सम्बत् २०६३ साल अघि नेपालमा भएको निर्वाचनमध्ये २०१५ सालमा भएको संसदीय निर्वाचनमा भौगोलिक निर्वाचन क्षेत्रका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धति (FPTP) अवलम्वन गरिएको थियो । २०४७ सालको संविधानले दवि-सदनात्मक संसदको व्यवस्था गरेको थियो । तल्लो सदन प्रतिनिधि सभाको निर्वाचन भौगोलिक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने व्यवस्था थियो भने माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचन स्थानीय निकायका प्रतिनिधिहरू रहेका निर्वाचक मण्डलद्वारा एकल सङ्क्रमणीय मत (सिङ्गल ट्रान्सफेरवल भोट)का आधारमा हुने व्यवस्था रहेको थियो ।
 
सम्बत् २०६४ सालमा भएको संविधानसभामा २४० निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट २४० जना र सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानी मिश्रित समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ३३५ जना सदस्यको निर्वाचन भएको थियो । त्यस्तै २६ जना मनोनीत गरी ६०१ जनाको संविधानसभा गठन भएको थियो । २०६४ सालमा सम्पन्न भएको संविधानसभाको निर्वाचनमा मिश्रति निर्वाचन प्रणाली अन्तर्गत समानान्तर समानुपातिक निर्वाचन प्रणाली र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अबलम्बन गरिएको थियो ।
 
क) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली
अर्को संविधानसभाको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दुई सय चालीस निर्वाचित हुने व्यवस्था गरिएको छ । यो निर्वाचन प्रणालीमा कुनै खास निर्वाचन क्षेत्रमा उठेको उम्मेदवारलाई मतदाताले मत दिन्छन् । यसका दुई पक्ष हुन्छन् - बढी मत र बहुमत ।
 
बहुमत प्रणालीमा खसेको मतको ५१+१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुन्छ। कुनै पनि उम्मेदवारले ५१+१ प्रतिशत मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारहरूबीच पुनः प्रतिस्पर्धा गराइन्छ । दोस्रोपटक भएको निर्वाचनमा जसले बढी मत प्राप्त गर्दछ सो उम्मेदवार विजयी हुन्छ । यसलाई रन अफ प्रणाली पनि भनिन्छ । बहुमतीय प्रणालीमा जुन उम्मेदवारले सबैभन्दा बढी मत प्राप्त गर्छ सो उम्मेदवार विजयी हुन्छ । नेपालले अवलम्वन गरेको निर्वाचन प्रणाली बहुमतीय निर्वाचन प्रणाली हो ।
 
ख) समानुपातिक निर्वाचन प्रणाली
यो निर्वाचन प्रणालीमा मतदाताले उम्मेदवारलाई नभई राजनीतिक दललाई मत दिन्छन् । समग्र मुलुक वा मुलुकको कुनै क्षेत्रलाई एउटा निर्वाचन क्षेत्र मानिन्छ। यसमा बहुसदस्यको लागि निर्वाचन हुन्छ । राजनीतिक दलले आफूले जति मत प्राप्त गर्दछन् सोही अनुपातमा सीट प्राप्त गर्दछन् र सो सीटमा सो दलले छनौट गरेको उम्मेदवार विजयी भएको मानिन्छ । नेपालमा संविधानसभा सदस्य निर्वाचन, २०६४ मा ३३५ जना सदस्य विजयी भएका थिए। 
 
समानुपातिक निर्वाचन प्रणालीका विभिन्न पद्धतिहरू रहेका छन् :
सूचीमा आधारित समानुपातिक प्रणाली : सूची प्रणालीमा राजनीतिक दलले उम्मेदवारहरूको एकीकृत सूची निर्वाचन आयोगमा पेश गर्दछन् । मतदाताले दललाई मत दिन्छन् । खसेको कुल सदर मतको हिस्साको अनुपातमा सूचीमा रहेका उम्मेदवारहरू विजयी हुन्छन् । सूची खुला, बन्द र स्वतन्त्र गरी  तीन प्रकारका हुन्छन् । खुला सूचीमा उम्मेदवारहरूको नाम सार्वजनिक गरिन्छ । मतदाताले मन परेको दल तथा उम्मेदवारलाई मत दिन्छन् । बन्द सूचीमा निर्वाचन आयोगमा पेश भएका उम्मेदवारहरूमध्ये निर्वाचित हुने उम्मेदवारको नाम राजनीतिक दल आफैले निर्धारण गर्दछन् । दलले निर्वाचन आयोगमा पेश गरेको उम्मेदवारको सूची भने परिवर्तन गर्न पाउँदैनन् । स्वतन्त्र सूची प्रणालीमा मतदाताले आफ्नो रोजाइअनुसार राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारलाई मत दिन पाउँछन् । नेपालमा सम्पन्न संविधानसभा निर्वाचनमा बन्द सूचीको प्रयोग गरियो । नेपालमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार भएका व्यक्तिको नाम समानुपातिकतर्फ बन्द सूचीमा समावेश गर्न पाइने छैन भन्ने कानूनी व्यवस्थासमेत गरिएको छ ।
 
एकल सङ्क्रमणीय मत प्रणाली : एकल सङ्क्रमणीय मत प्रणालीमा मतदाताले एउटै मतमा प्राथमिकतासमेत तोकी धेरै सदस्यलाई मत दिन्छन् । मतगणना गर्दा विजयी हुन आवश्यकभन्दा बढी मत दोस्रो प्राथकिता पाउने उम्मेदवारलाई सर्दै जान्छ । यो क्रम आवश्यक उम्मेदवार विजयी नहुँदासम्म चलिरहन्छ । यस प्रणालीमा कुल सदर मतलाई कुल निर्वाचित गर्नुपर्ने सङ्ख्याले भाग गरी एक जोड्दा हुन आउने मत सङ्ख्या प्राप्त गर्ने उम्मेदवार विजयी हुन्छन् ।
 
एकल सङ्क्रमणीय मत प्रणालीमा पहिलो, दोस्रो, तेस्रो आदि प्राथमिकताहरूमध्ये पहिलो प्राथमिकताको उम्मेदवारले आवश्यक कोटा नाघेमा विजयी घोषित गरिन्छ । पहिलो प्राथमिकताको उम्मेदवारले प्राप्त गरेको मतले थ्रेसहोल्ड पार गरेपछि बाँकी रहेको उसको मत दोस्रो प्राथमिकतामा परेको उम्मेदवारलाई हस्तान्तरण गरिन्छ । उसको मतले पनि थ्रेसहोल्ड पार गरेमा विजयी हुन्छ । यसरी उम्मेदवारहरू निर्वाचित हुँदै जान्छन् ।
 
ग) मिश्रित निर्वाचन प्रणाली
बहुमत प्रणाली र समानुपातिक प्रणालीका सकारात्मक पक्षलाई अङ्गीकार गरी तयार पारिएको निर्वाचन प्रणाली नै मिश्रित निर्वाचन प्रणाली हो । यो प्रणालीलाई मिश्रित सदस्य समानुपातिक प्रणाली (Mixed Member Proportional System) र समानान्तर प्रणाली (Parallel System) गरी दुई भागमा बाँड्न सकिन्छ ।
 
मिश्रित सदस्य समानुपातिक प्रणालीमा केही सीट बहुमत प्रणालीका आधारमा निर्वाचन गरिन्छ भने केही सीट समानुपातिक प्रतिनिधित्वका लागि छुट्याइन्छ। बहुमत निर्वाचनले पैदा गर्ने अमिल्दो अनुपातको क्षतिर्पूर्ति समानुपातिक निर्वाचनबाट दिने व्यवस्था हुन्छ । जस्तो १० प्रतिशत मत प्राप्त गर्ने दलले बहुमत निर्वाचनमा एक सीट पनि जित्न नसकेमा समानुपातिकतर्फबाट सो बराबरको सीट क्षतिपूर्तिस्वरूप दिइन्छ ।
 
समानान्तर प्रणालीमा बहुमत र समानुपातिक दुबैको छुट्टाछुट्टै प्रयोग हुन्छ र अमिल्दो अनुपातका लागि क्षतिपूर्ति दिइँदैन । स्थान वितरण गर्दा क्षेत्रगतरूपमा बहुमत प्रणालीबाट उम्मेदवार विजयी हुन्छन् भने पार्टीले प्राप्त गरेको मत प्रतिशतका आधारमा समानुपातिक प्रणालीबाट सीट वितरित हुन्छ । यसमा समावेशीकरण र अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व हुने, मत कम खेर जाने, विजयी उम्मेदवारको जवाफदेहिता रहने जस्ता गुणहरू रहन्छन् । नेपालमा सम्पन्न संविधानसभा सदस्य निर्वाचन, २०६४ मा पनि यही प्रणाली प्रयोग गरिएको हो ।
 
घ) अन्य प्रणालीहरू
बहुमत, समानुपातिक प्रतिनिधित्व तथा मिश्रित निर्वाचन प्रणालीका अतिरिक्त अरू थुप्रै निर्वाचन प्रणालीहरू विश्वका  विभिन्न मुलुकहरूमा प्रचलनमा रहेका छन् ।  
 
एकल असङ्क्रमणीय मत प्रणाली : यसमा मतदाताले बहुसदस्यीय निर्वाचन क्षेत्रमा एक जना उम्मेदवारलाई एक मत प्रदान गर्दछन् । यसमा कुल खसेको सदर मतको  सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू विजयी हुन्छन् ।
 
सीमित मत प्रणाली : यो बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग हुने बहुमत प्रणाली हो । यसमा मतदातालाई एकभन्दा बढी तर विजयी हुने सीटभन्दा कम मतदान दिने अधिकार हुन्छ । कुल खसेको सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू विजयी हुन्छन् । स्थानीय तहका निर्वाचनका लागि यो प्रणाली उपयोगी छ ।   
 
प्राथमिकता गणना प्रणाली : यसमा मतदाताले मतपत्रमा प्राथमिकता जनाएर मत दिन्छन् । हरेक प्राथमिकतालाई मूल्य तोकिएको हुन्छ । मूल्यहरूको योग गरी कुल मतको सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ । प्राथमिकता गणना गर्दा पहिलो प्राथमिकतालाई एक, दोस्रो प्राथमिकतालाई आधा, तेस्रो प्राथमिकतालाई एक तिहाई गरेर मूल्य तोकेको पाइन्छ ।
ECN Map Center    FAQs    Press Room