सरोकारवालाहरुका लागि

निर्वाचनसम्बन्धी अध्ययन तथा अनुसन्धानहरू


(क) “मतदानको समय प्रत्येक मतदाताको नाम रुजु गर्नेदेखि मतदान गर्न सम्म लाग्ने समय तीन मिनटमा सीमित गर्ने” सम्बन्धी अध्ययनको प्रतिवेदन सारांश
 
विश्वका विभिन्न मुलुकहरूमा कागजी मतपत्रको सट्टा विधुतीय मतदान यन्त्रको प्रयोग भइरहेको सन्दर्भमा नेपालमा प्रथम पटक संविधानसभा सदस्य निर्वाचन, २०६४ मा काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा र त्यसपछि संविधानसभा सदस्य उपनिर्वाचन, २०६५ मा मोरङ, धनुषा, कास्की, रोल्पा र कञ्चनपुर गरी ५ जिल्लाका ६ निर्वाचन क्षेत्रहरूमा यो उपकरणको प्रयोगद्वारा निर्वाचन सम्पन्न भइसकेको छ ।
 
निर्वाचन आयोग, नेपालको पाँच वर्षे “रणनीतिक योजना, २०६५” को लक्ष्य नं. ६.१५ मा उल्लेखित “मतदानको समय प्रत्येक मतदाताको नाम रुजु गर्नेदेखि मतदान गर्न लाग्ने समय तीन मिनटमा सीमित गर्ने” भन्ने लक्ष्य पूरा गर्न विधुतीय मतदान यन्त्रबाट नमुना मतदान गराई सम्भाव्यता अध्ययन गर्ने आयोगको मिति २०६७।११।२ को निर्णयानुसार पाँच विकास क्षेत्रका हिमाल, पहाड र तराईका पन्ध्र जिल्लाहरूमा प्रतिटोली दुई जना कर्मचारीका दरले नमुना मतदान अध्ययन टोली खटाइ २०६७ साल चैत्र महिनामा नमुना मतदान सम्पन्न गरिएको छ । आगामी निर्वाचनहरूमा विधुतीय मतदान उपकरणको प्रयोग गर्ने भन्ने रणनीतिक योजनाको लक्ष्य तथा निर्वाचन आयोगको निर्णयानुसार यो सम्भाव्यता अध्ययन कार्यलाई अगाडि बढाइएको हो ।  
 
निर्वाचनका समयमा मतदान गर्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी विधुतीय उपकरणको प्रयोगद्वारा गरिएको नमुना मतदानका क्रियाकलापहरूलाई लाग्ने समय अध्ययन गर्न २ किसिमका प्रश्नावलीहरूको प्रयोग गरिएको छ । प्रत्येक मतदाताको नामावली रुजु गर्नेदेखि महिला –पुरुष तथ्याङ्क फाराम भर्ने, नङ्मा नउड्ने मसी लगाउने, मतदाताको वडा, सि.नं. र नाम रजिष्टरमा दर्ता गर्ने, नियन्त्रण एकाइबाट मतदान गर्ने अनुमति दिने, मतदान गरी मतदाता मतदान कक्ष बाहिर जाने क्रममा लागेको व्यक्तिगत समय मापन गर्न प्रश्नावली २ को प्रयोग गरिएको छ भने मतदानका लागि मतदाताले गरेका मतदानसम्बन्धी समस्त क्रियाकलापहरूको समयलाई एकीकृत गरी औसत मतदान समय मापन गर्न प्रश्नावली १ को प्रयोग भएको छ । यस अध्ययनअनुसार मिश्रित निर्वाचन प्रणाली (पहिलो हुने निर्वाचित हुने र समानुपातिक) प्रयोगमा रहेको अवस्थामा एक जना मतदातालाई मतदानसम्बन्धी सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्न १ मिनट ५० सकेण्ड औसत समय लाग्ने देखिन्छ । यदि, पहिलो हुने निर्वाचित हुने एक मात्र निर्वाचन प्रणालीको प्रयोग भएको अवस्थामा १ मिनट २३ सेकेण्ड औसत समय लाग्ने देखिन्छ भने मिश्रित प्रणाली अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि मात्र मतदान गर्न २७ सेकेण्ड औसत समय लाग्ने देखिन्छ । त्यस्तै हिमाली जिल्लाहरूमा प्रति मतदाता १ मिनट ५२ सेकेण्ड, पहाडी जिल्लाहरूमा १ मिनट ५५ सेकेण्ड र तराईका जिल्लाहरूमा १ मिनट ४२ सेकेण्ड औसत समय मतदान गर्न लाग्ने देखिन्छ ।   
 
विधुतीय मतदान उपकरणबाट हुने मतदानमा मतदान प्रक्रिया केही सरल हुने, मतदानमा कम समय लाग्ने, मत बदर नहुने, मतपत्र छपाइसम्बन्धी झन्झट नहुने, दीर्घकालीन दृष्टिले मितव्ययी हुने, वातावरण मैत्री हुने, छोटो समयमै मतगणना गरी  निर्वाचनको नतीजा निकाल्न सकिने आदि फाइदाहरू रहेका छन् । यसको प्रयोग गर्दा नयाँ प्रविधि भएकाले मतदातालाई विश्वस्त गराउन, दक्ष जनशक्ति प्राप्त गर्न, टुटफुट र खराबी हुने खतराबाट जोगाउन, ६४ जनाभन्दा बढी उम्मेदवार भएको स्थितिमा प्रयोगमा ल्याउन समस्याहरूसमेत रहेका छन्, तथापि त्यस्ता समस्याहरू समाधानार्थ विधुतीय मतदान उपकरणसम्बन्धी सबै श्रव्यदृश्य माध्यमहरूको प्रयोगद्वारा व्यापक मतदाता शिक्षा सञ्चालन गर्ने, पचहत्तरै जिल्लामा विधुतीय मतदान उपकरणको प्रयोग गरी नमुना मतदान गराउने, आयोग र अन्तर्गतका कर्मचारीहरूलाई उपकरण प्रयोगसम्बन्धी तालीम दिई दक्ष बनाउने, सबै सरोकारवाला पक्षहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू गरी विधुतीय मतदान उपकरणको प्रयोगसम्बन्धी जनविश्वास एवं जनआधार तयार पार्ने आदि उपायहरू अपनाउँदा यो प्रविधिको प्रयोग गरी सफलताका साथ निर्वाचन सम्पन्न गराउन सकिने देखिन्छ ।  
 
नमुना मतदानको सम्भाव्यता अध्ययनबाट प्रति मतदाता मतदान गर्न औसत १ मिनट ५० सेकेण्ड लागेता पनि उक्त समयभित्र अन्य मतदाताहरूलाई पनि मतदान प्रक्रियामा प्रवेश गराउन सकिन्छ । एक जना मतदाता मतदान प्रक्रियामा लागिरहेको अवस्थामा अरु मतदाताहरूको पनि नाम रुजु गर्ने, नङ्मा नउड्ने मसी लगाउनेलगायतका अन्य कार्यहरू गर्न सकिने भएकोले मतदानका समयमा प्रति मतदाता १ मिनट ५० सेकेण्डभन्दा कम समय लाग्न सक्ने सम्भावना रहन्छ । अतः “मतदानको समय प्रत्येक मतदाताको नाम रुजु गर्नेदेखि मतदान गर्न लाग्ने समय तीन  मिनटमा सीमित गर्ने” भन्ने रणनीतिक योजनाको लक्ष्य विधुतीय मतदान उपकरणबाट मतदान गराउँदा सहजै रुपमा पूरा हुने देखिन्छ ।
  
(ख) “१०० शैय्या र सोभन्दा बढीको अस्पताल र २५ जनाभन्दा बढीको बृद्धाश्रममा घुम्ती मतदानको व्यवस्था गर्ने” सम्बन्धमा भएको अध्ययनको प्रतिवेदन सारांश
 
निर्वाचन आयोगको रणनीतिक योजना, २०६५ को “निर्वाचन प्रणाली र प्रक्रियामा सुधार” सम्बन्धी मूलशीर्षक अन्तर्गत बुँदा नं. ६ मा “१०० शैय्या र सोभन्दा बढीको अस्पताल र २५ जनाभन्दा बढीको बृद्धाश्रममा घुम्ती मतदान व्यवस्था गर्ने” भन्ने कार्यक्रम तय भएको  छ । “रणनीतिक योजना, २०६५” को कार्य योजनामा यो कार्यक्रम आ.व. ०६६-६७ मा शुरू गरी आ.व. ०६८-६९ मा सम्पन्न गर्ने गरी समय निर्धारण भएकोले र आ.व. ०६७-६८ मा यस कार्यक्रमको संभाव्यता अध्ययन गर्ने कार्य गरिएको छ । सबै मतदातालाई मतदान गर्ने समान अवसर प्रदान गर्नुपर्ने निर्वाचन प्रणालीको मूल मर्मसँगै कतिपय मुलुकहरूमा समाजमा सानो सङ्ख्यामा रहेका सुविधाहीन समुदाय एवं क्षेत्र विशेषका मतदाताहरू, अस्पतालमा रहेका विरामीहरू, बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरू, सुरक्षा प्रवन्धमा खटिने सुरक्षाकर्मीहरू, अत्यावश्यकीय सेवामा खटिने कर्मचारीहरू एवं दुर्गम ठाउँमा लामो दूरीमा छरिएर रहेका मतदाताहरूलाई मतदान सेवाको समान अवसर प्रदान गर्न “विशेष मतदान सेवा कार्यक्रम” अन्तर्गत घुम्ती मतदान सेवा प्रचलनमा रहेको पाइन्छ । नेपालमा पनि १०० शैय्या वा सोभन्दा बढी शैय्या भएका अस्पताल र २५ जना भन्दा बढी सङ्ख्यामा रहेका बृद्धाश्रममा रहने मतदाताहरूलाई विशेष मतदान सेवा अन्तर्गत घुम्ती मतदान सेवाको अवसर प्रदान गर्ने “रणनीतिक योजना, २०६५” को लक्षित कार्यक्रमअनुसार मापदण्डभित्रका अस्पताल र बृद्धाश्रमहरूमा घुम्ती मतदान सेवाको संभावना रहे नरहेको अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्वाचन आयोगको मिति २०६८-२-२२ को सचिवस्तरीय निर्णय अनुसार स्थलगत अध्ययन गरी यो संभाव्यता अध्ययन प्रतिवेदन तयार पारिएको छ ।
 
संभाव्यता अध्ययन गर्ने  सिलसिलामा चितवन जिल्लाका दुईवटा अस्पताल (भरतपुर अस्पताल र चितवन स्कूल अफ मेडिकल साइन्सेज) र दुईवटा बृद्धाश्रमहरू (एन.आर.एन.बृद्धाश्रम र रोटरी करुणालय बृद्धाश्रम) छनोट गरी ती अस्पताल एवं बृद्धाश्रमहरूको स्थलगत भ्रमण गरी अवलोकन अध्ययन गर्ने, प्रश्नावलीको माध्यमबाट विवरण सङ्कलन गर्ने, अस्पतालका पदाधिकारी, विरामी र बृद्धाश्रमका पदाधिकारी एवं बृद्धबृद्धाहरूसंगको अन्तरक्रिया -छलफल गरी सूचना सङ्कलन गर्ने जस्ता अध्ययन विधिहरूको प्रयोग गरी घुम्ती मतदान कार्यको संभावना निरूपण गरिएको छ । मतदानको दिन अस्पतालमा रही उपचार गराइरहेका बिरामीहरूलाई घुम्ती मतदानको सेवा व्यवस्था मिलाई मतदान कार्यमा सहभागी बनाउन सकिने नसकिने संभावनाको यथार्थताको खोजी गर्दा स्थलगत अध्ययनको समयमा भरतपुर अस्पतालका ३०० शैय्या क्षमतामध्ये २१० शैय्यामा मात्र (७०%) बिरामीहरू रहेका र चितवन स्कूल अफ मेडिकल साइन्सेजका ७०० शैय्या क्षमतामध्ये ४०० शैय्यामा मात्र (५७%) बिरामीहरू भर्ना भई उपचार गराइरहेको अवस्था पाइन्छ । दुईवटै अस्पतालहरूको शैय्या क्षमता १००० रहेकोमा शैय्या खपत अवस्था ६१० जना बिरामी अर्थात् ६३.०० प्रतिशतले मात्र शैय्या क्षमता खपत रहेको देखिन आउँछ ।
 
त्यस्तै, उपचारका लागि अस्पतालमा बस्ने बिरामीहरूको औसत समय अध्ययन गर्दा भर्ना भएका बिरामीहरूमध्ये १६.५६ प्रतिशत बिरामीहरू ७ दिनभन्दा बढी समयसम्म उपचारार्थ अस्पतालमा बस्ने, ३०.०० प्रतिशत बिरामीहरू ४ दिनदेखि ७ दिनसम्म बस्ने र ५३.०० प्रतिशत बिरामीहरू १ दिनदेखि ३ दिनसम्म बस्ने गरेको अवस्था भेटिन्छ । भर्ना भएका बिरामीहरूमध्ये ५० प्रतिशतभन्दा बढी बिरामीहरू ३ दिन मात्र उपचारार्थ अस्पतालमा बस्ने देखिएको र अस्पताल सूत्रले बिरामीहरूको  मतदाता नामावली सङ्कलन गर्ने कार्य मतदान गर्ने दिनभन्दा १/२ दिनअघि मात्र गर्नु पर्ने धारणा राखेको साथै बिरामीहरूसँग नागरिकताको प्रमाणपत्र पनि साथमा नहुने अवस्थामा अस्पतालमा घुम्ती मतदान सेवाको व्यवस्था गरी  बिरामीहरूलाई मतदानको अवसर दिन सकिने संभावना देखिँदैन । अस्पतालका बिरामीहरूको लागि घुम्ती मतदान सेवाको अवसर प्रदान गर्ने नै हो भने यसतर्फ थप अध्ययन गरी संभावनाका बैकल्पिक उपायहरू निकाल्न आवश्यक देखिन्छ ।
 
बृद्धाश्रमहरूको सन्दर्भमा भने अस्पतालको जस्तो समस्या आउने देखिँदैन । चितवन जिल्लाका रोटरी करूणालय बृद्धाश्रम र एन.आर.एन. बृद्धाश्रमहरूको स्थलगत अध्ययन गर्दा उक्त बृद्धाश्रमहरूमा महिला ३२ र पुरुष ५६ गरी जम्मा ८८ जना बृद्धबृद्धाहरू रहेको, यिनीहरूको बृद्धाश्रममा बस्ने बसोबासको प्रकृति झण्डै जीवनको अन्तिम अवस्था पर्यन्तको हुने देखिएको र प्रत्येक बृद्धबृद्धाहरूसंग नागरिकताको प्रमाणपत्र साथमै रहने गरेको र कथंकदाचित् नागरिकताको प्रमाणपत्रसाथमा नभएको खण्डमा आश्रमले आवश्यकताअनुसार मगाइदिन सक्ने अवस्था पाइएकोले बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरूका लागि घुम्ती मतदान सेवाको व्यवस्था गरी मताधिकार प्रयोग गर्ने अवसर प्रदान गर्न सकिने अवस्था पुष्टि हुन्छ । अतः यस अध्ययन प्रतिवेदनले प्रस्तुत गरेका सुझावहरू अनुरूपको विधि पूरा गरी मापदण्डभित्रका बृद्धाश्रमहरूमा आगामी निर्वाचनदेखि घुम्ती मतदान सेवाको व्यवस्था मिलाउने र अस्पतालको हकमा थप अध्ययन गरी संभावनाको खोजी गर्नु उपयुक्त हुने कुरा यस प्रतिवेदनबाट सिद्ध भएको छ ।
 
(ग) ब्रेललिपिसम्बन्धी अध्ययन र सुझाव  
 
ब्रेललिपिको मतपत्रबाट दृष्टिविहीन मतदातालाई मतदान गराउन मतपत्र डिजायन, छपाइ, प्याकिङ्ग, ढुवानी, वितरण र मतगणना आदि हरेक क्रियाकलापमा दृष्टिविहीन विशेषज्ञको आवश्यकता पर्ने, सानोतिनो समस्यामा पनि विशेषज्ञ कै सेवा आवश्यक पर्ने र झिनोमसिनो समस्याले पनि काम रोकिन सक्ने अवस्था देखिएकोले तुलनात्मक रूपमा मतपत्रमा ब्रेललिपि प्रयोग गरी मतदान गराउँदा यो कार्य त्यति सजिलो देखिँदैन । अतः आगामी निर्वाचनमा विधुतीय मतदान यन्त्रमा ब्रेललिपि प्रयोग गरी दृष्टिविहीनहरूलाई मतदान गराउन निम्नअनुसारको सुझाव प्रस्तुत गरिएको छ ।
 
प्रत्येक मतदान एकाइमा १ देखि १६ नम्बरका बटम मुनि ब्रेललिपि अङ्कमा नम्बर लेखिएकोले एउटा मात्र मतदान एकाइको प्रयोग हुने निर्वाचन क्षेत्रमा मतदान एकाइको बटम नम्बरअनुसार रहेको राजनीतिक दलको चुनाव चिह्न वा उम्मेदवारको नाम मतदाता शिक्षा मार्फत स्पष्ट जानकारी दिने, जसअनुसार नम्बर अङ्क छामी आफ्नो नम्बर अङ्कमा रहेको चुनाव चिह्न पत्ता लगाइ ब्रेल अङ्कको माथि रहेको मतदान बटम थिची मतदान गर्न दृष्टिविहीन मतदाता सक्षम हुन्छन् ।
एकभन्दा बढी मतदान एकाइको प्रयोग गर्नुपर्ने अवस्थामा प्रत्येक मतदान एकाइको शीर्ष भागमा ब्रेललिपिमा (क), दोस्रोमा (ख), तेस्रोमा (ग) र चौथोमा (घ) भनी ब्रेललिपिको स्टिकर टाँसी मतदान एकाइ छुट्याउन उपयुक्त हुने सुझाव प्राप्त भएकोले सोहीअनुसार गर्न उपयुक्त हुने देखिन्छ ।
दृष्टिविहीनहरूका लागि ब्रेललिपि वा मतदाता शिक्षासम्बन्धी ससाना पर्चा, हातेपुस्तक जस्ता मतदाता शिक्षा सामग्री तयार पार्न ब्रेल विशेषज्ञलाई करारमा लिई कार्य गराउन उपयुक्त देखिन्छ  र दृष्टिविहीनहरूका लागि मतदाता शिक्षासम्बन्धी विशेष व्यवस्था गर्न आवश्यक देखिन्छ । 
विधुतीय मतदान यन्त्रको प्रयोग प्रदर्शन एवं जानकारीसम्बन्धी मतदाता शिक्षा दिँदा दृष्टिविहीनहरूलाई पनि केन्द्रमा राखी उनीहरूले राम्रोसँग मतदान एकाइलाई छामी त्यसमा रहेका बटमहरू, साइज र आकार प्रकार बारे उनीहरूले रूप ग्रहण गर्न सक्ने गरी मतदाता शिक्षाको व्यवस्था मिलाउँदा बढी व्यावहारिक हुने देखिन्छ ।
दृष्टिविहीनहरूसँग सम्बन्धित सरकारी एवं गैरसरकारी संस्थाहरूलाई संलग्न गरी मतदाता शिक्षा दिँदा अझ बढी प्रभावकारी हुने देखिन्छ । त्यस्तै निर्वाचन अधिकृत मतदान अधिकृत तथा अन्य कर्मचारीको तालिममा ब्रेललिपि प्रशिक्षण विषयसमेत समावेश गरी प्रशिक्षण दिनु आवश्यक देखिन्छ ।
अशिक्षित दृष्टिविहीनहरूलाई मतदानको समयमा कर्मचारीको सहयोग आवश्यक पर्ने देखिन्छ ।
निर्वाचनसम्बन्धी विद्धमान ऐन, कानून एवं नियमावली, निर्देशिकाहरूमा ब्रेललिपिको प्रयोग सम्बन्धी प्रावधानको व्यवस्था नभएकोले ऐन, कानून निर्माण एवं संशोधन गर्दा विधुतीय मतदान यन्त्रमा ब्रेललिपिसमेत समावेश गर्ने प्रावधानको व्यवस्था गर्नु पर्ने देखिन्छ ।
रणनीतिक योजना, २०६५ ले पाँचवटा निर्वाचन क्षेत्रको मतपत्रमा ब्रेललिपि समावेश गरी दृष्टिविहीनलाई सो मतपत्रबाट मतदान गराउने लक्ष्य लिएको परिपेक्षमा आगामी निर्वाचनमा कागजी मतपत्रको सट्टा विधुतीय मतदान यन्त्रबाट मतदान हुने भएकोले हाल विद्धमान निर्वाचन क्षेत्रहरू यथावत् रहेको अवस्थामा दृष्टिविहीनहरूको सङ्ख्या बढी भएको कास्की जिल्लामा विधुतीय मतदान यन्त्रमा ब्रेललिपि प्रयोग गरी मतदान गराउन उपयुक्त हुने देखिन्छ । 
 
दक्षिण अफ्रिका अध्यन भ्रमण प्रतिवेदन
पाकिस्तान अध्यन भ्रमण प्रतिवेदन
भारत अध्यन भ्रमण प्रतिवेदन
ECN Map Center    FAQs    Press Room